नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ साउन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएको महिना दिन पुग्दासम्म मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउँछ भन्नेमा अझै अनिश्चित छ। यसअघि सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने गठबन्धन दलका नेताहरुले बताउँदै आएका थिए । तर साझा कार्यक्रम सार्वजनिक भइसक्दासमेत मन्त्रिपरिषद् विस्तारमा कुनै प्रगति भएको छैन ।
प्रधानमन्त्री देउवा महाधिवेशनबारे टुङ्गो लगाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने पक्षमा देखिएका छन् । काँग्रेसको जारी केन्द्रीय कमिटी बैठकले कहाधिवेशनको नया मिति तय गर्ने बताइएको छ । कांग्रेस महाधिवेशनको अन्योलसँगै मन्त्रालय भागबण्डा तथा उपप्रधानमन्त्री बनाउने या नबनाउने भन्ने विवादले पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।
कांग्रेस, माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरु उपप्रधानमन्त्रीको हैसियतमा मात्र सरकारमा जान चाहेका छन् । तर प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपप्रधानमन्त्री नराख्ने पक्षमा छन् । यस्तै गठबन्धनका दलहरुमा मन्त्री बन्न खोज्नेहरु धेरै भएपछि नेतृत्वलाई मिलाउन समस्या भएको छ ।
कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्ण प्रसाद सिटौला समूहलाई कसरी समेट्ने विषयमा समझदारी हुन सकेको छैन । नेकपा माओवादी केन्द्रले पनि सरकारमा जाने मन्त्री टुङ्गो लगाउन सकेको छैन । आधिकारिकता विषय अदालतले टुङ्ग्याएपछि जसपा मन्त्री छान्ने विषयमा केन्द्रित भए पनि विवाद बाँकी नै छ । एमालेको माधव नेपाल समूह सरकारका जाने या नजाने अझै टुङ्गो लागेको छैन ।
लामो समय विभागीय मन्त्री अभावमा सरकारमा कतिपय काम कारबाही रोकिन पुगेका छन् । सचिव तहबाट हुने प्रशासनिक काम निरन्तर रहे पनि मन्त्रीस्तरीय कार्य प्रभावित बन्न पुगेका छन् । एक महिनाअघि प्रधानमन्त्रीमा नियुक्त देउवाले १७ वटा मन्त्रालय सम्हाल्दै आएका छन् ।।

