‘शेरबहादुर देउवा किन मलाई मन पर्छ’ भन्ने भिडियोको पक्षमा बोलेको छैन : प्रकाशशरण महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफूले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सिमित निकटस्थ सहयोगी र नेताका बीचमा राखेका कुरालाई जोडेर तोडमोड गरी समाचार सार्वजनिक भएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले आज(शुक्रबार) एक विज्ञप्ति जारी गरी ‘शेरबहादुर देउवा किन मलाई मन पर्छ’ भन्ने भिडियोको पक्षमा आफूले भन्दै नभनेको कुरा सञ्चारमाध्यममा सम्प्रेषण गरिएकामा ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।



प्रधानमन्त्री देउवाले आफ्नो जीवनको विभिन्न कालखण्डमा सत्तामा हुँदा र नहुँदा गरेका राम्रा कामलाई उल्लेखित भिडिओमा प्रस्तुत गरेकोभन्दा तथ्य र आधारसहित परिपक्व तथा भिन्न तरिकाबाट सम्प्रेषण गर्न सकिन्थ्यो भन्ने आफूलाई पनि लागेको सहमहामन्त्री डा. महतको भनाइ छ ।

प्रधानमन्त्री वा उनका सहयोगीले गरेको कुनै कार्यले प्रधानमन्त्रीको छविलाई हानि गरेको छ भन्ने लागेमा उनको निरन्तर पहुँचमा रहेका नेता र निकटस्थलले सिधै प्रधानमन्त्रीलाई भनेर सच्याउन सकिने तथा त्यसका लागि सामाजिक सञ्जालको सहयोग लिनुुपर्ने अवस्था के परिस्थितिले आइपरेको हो भनेर उक्त छलफलमा जिज्ञासा मात्र राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘नेतृत्व तहबाट कुनै कमीकमजोरी भएमा सिधै राख्ने मेरो स्वभाव छ त्यसले काम नगरे मात्र संस्थागत र सार्वजनिकरुपमा राख्नुपर्छ भन्ने मान्यता म राख्दछु’, उनले विज्ञप्तिमा जनाएका छन्।

केही दिनयता प्रधानमन्त्री देउवाको नाममा खोलेको भाइबर ग्रुपमार्फत ‘मलाई शेरबहादुर देउवा मनपर्छ, किन भने’ शीर्षकमा विभिन्न भिडियो सार्वजनिक भएका थिए ।

सम्बन्धित समाचार