अफगानी राष्ट्रपति असरफ घानीले देश छाडे

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ । तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् ।

तालिवानले कब्जा जमाउँदै गएपछि सरकारले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणको तयारी सुरु भएको छ । देशका अधिकांस महत्वपूर्ण क्षेत्रमा कब्जा जमाइसकेका तालिवानी लडाकु अहिले राजधानी काबुलमा समेत प्रवेश गरिसकेका छन् ।



तालिवानलाई रोक्न सक्ने अवस्था नदेखिएपछि सरकारले वार्ताको पहल गरेको छ । तालिवानले पनि सकभर रक्तपातबिना शान्तिपूर्ण तवरले सत्ता हस्तान्तरण गर्न चाहेको सन्देश दिएका छन् । काबुलबाट बाहिरिन चाहने कसैलाई पनि अवरोध नगर्ने उक्त विद्रोही संगठनले जनाएको छ ।

तालिवानका एक प्रवक्ताले ट्वीट गर्दै भनेका छन्, ‘संक्रमण प्रक्रियाले पूर्णता नपाउञ्जेलसम्म काबुलको सुरक्षाको जिम्मेवारी अर्को पक्ष सँग छ ।’ त्यसलगत्तै अफगान सरकारले काबुलमा रक्तपात रोक्न तथा शक्ति हस्तान्तरण गर्न वार्ताहरू भइरहेको जानकारी दिएको हो ।

अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवलले तालिवानले आफ्ना लडाकुलाई काबुलबाट पछि हट्न आदेश दिएको भन्दै एउटा संक्रमणकालीन सरकारलाई ‘शान्तिपूर्ण तवरले शक्तिको हस्तान्तरण गर्न’ तयारी भएको बताएका छन् ।

सम्बन्धित समाचार