एमसीसीलाई गठबन्धन तोड्ने औजारको रुपमा प्रयोग गर्न खोजियोः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको विषयलाई उछालेर गठबन्धन तोड्न खोजेको आरोप लगाएका छन्। उनले एमसीसीलाई गठबन्धन तोड्ने औजारको रुपमा प्रयोग गर्न खोजिएको दाबी गरे।

पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले पाँच दलीय गठबन्धनप्रति आरिस गर्नेहरुले एमसीसीमा भएरनभएका विषय निकालेर गिजोल्ने प्रयास गरेको बताए। ‘एमसीसीलाई गठबन्धन तोड्ने औजारको रुपमा प्रयोग गर्न खोजिएको छ। आवेग र उत्तेजनामा आएर अभिव्यक्ति नदिऊँ। गठबन्धनभित्रको संवेदनशीलतालाई पनि ख्याल गरौं। मुलतः एमसीसीले राष्ट्र हितविपरीतका काम नगरोस् भन्ने कुरामा स्पष्ट छौं,’ प्रचण्डको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य युवराज चौलागाईंले भने, ‘हामी एमसीसीको विरुद्धमा छैनौं। राष्ट्र हितविपरीत रहेका प्रावधानहरु परिवर्तन हुनुपर्ने नै पार्टीको लाइन हो।’



एमसीसीका विषयमा प्रचण्डको प्रतिवेदनमा स्पष्ट नभएको भन्दै केन्द्रीय सदस्यहरुले स्पष्ट पार्न सुझाएका थिए। केन्द्रीय सदस्यहरुले एमसीसीका विषयमा स्पष्ट पार्न आग्रह गरेपछि प्रचण्डले एमसीसी संशोधन गरेर पारित गर्ने विषयमा प्रस्ट पारेका हुन्।

एमसीसीको विषय पाँच दलीय गठबन्धनको साझा कार्यक्रममा नसमेटिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघिको संसद्‍ बैठकमा त्यस विषयलाई उठाएका थिए। त्यस विषयलाई स्पष्ट पार्ने क्रममा प्रचण्डले बैठकलाई एमसीसीमा भएका केही प्रावधानहरु संशोधन गरेर मात्रै पारित गर्ने स्पष्ट पारेका हुन्।

सम्बन्धित समाचार