नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ साउन ।
बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा रियल सोसीडाड बार्सिलोनासँग ४-२ ले पराजित हुन पुग्यो ।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा खेलको १९ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यस्तै पहिलो हाफको इन्जुरी समयमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २-० को अग्रता बनाएको बार्सिलोनाले व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा ब्रेथवेटले खेलको ५९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३-० को स्थितिमा ल्याए ।
यस्तै, सोसीडाडको लागि खेलको ८२ औं मिनेटमा जुलेन लोबेटेले गोल गर्दै खेललाई ३-१ मा ल्याए । त्यसैगरी खेलको ८५ औं मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै सोसीडाडलाई ३-२ को स्थितिमा ल्याए । तर, दोस्रो हाफको इन्जुरी समयमा सेर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ४-२ को सहज जित दिलाए । स्पेनिस ला लिगामा बार्सिलोनाले जित सहित सु:खद सुरुवात गरेको छ भने सोसीडाडले हारबाट सिजनको सुरुवात गरेको छ ।
स्पेनिस ला लिगा अन्तर्गत नै आइतबार राति भएको अन्य खेलमा साविक विजेता एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई २-१ ले पराजित गर्दै सु:खद सुरुवात गरेको छ भने रायो भालेकानोलाई ३-० ले पराजित गर्दै ला लिगामा सेभियाले विजयी सुरुवात गरेको छ ।