नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ साउन ।

सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई सकुशल उद्धार गर्ने निर्णय गरेको छ ।
आज(सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल रुपमा उद्धार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूलाई समन्वयात्मक रूपले काम गर्न निर्देशन समेत दिइएको कार्कीले जानकारी दिए । त्यस्तै प्रवक्ता कार्कीले समस्याको कूटनीतिक माध्यमबाट समाधानको प्रक्रिया अघि बढिसकेकोले भूतपूर्व गोर्खा सैनिकलाई बेलायतमा जारी अनसन फिर्ता लिनसमेत आह्वान गर्ने निर्णय समेत बैठकले गरेको जानकारी दिए ।

