नवकान्तिपुर संवाददाता
काठमाडौं, १ भदौ ।

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज (मंगलबार) मिश्रको शपथग्रहण भएको हो ।
संविधानको कारा १६७ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रपतिले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा मिश्रलाई आज(मंगलबार) प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

