नवकान्तिपुर संवाददाता
काठमाडौं, २ भदौ ।
बोरुसिया डर्टमण्डलाई पराजित गर्दै बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । मंगलबार राति भएको फाइनल खेलमा डर्टमण्ड बायर्नसँग ३-१ ले पराजित हुन पुग्यो ।
एकतर्फी भनेको खेलमा खेलको ४१ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफको ४९ औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए । त्यस्तै, खेलको ६४ औं मिनेटमा डर्टमण्डका लागि मार्को रिउसले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए ।
तर, व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ७४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३-१ को सहज जित दिलाए । यो जितसँगै बायर्नले आठौं पटक सुपर कपको उपाधि चुमेको छ । बुन्डेसलिगा च्याम्पियन र जर्मन कप विजेता जर्मन सुपर कपको उपाधिको लागि प्रातिस्पर्धा गर्ने प्रावधान छ । बायर्नले बुन्डेसलिगा जितेको थियो भने डर्टमण्डले जर्मन कप जितेको थियो ।