नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ भदाै ।

बुधबार मात्रै नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य माधव नेपालकै सल्लाहमा मुख्यमन्त्री बनेको खुलेको छ । मुख्यमन्त्री बन्ने अफर आएपछि शाक्यले नेता नेपाललाई भेटेर छलफल गरेको बताइएको छ । शाक्यनिकट एक नेताका अनुसार मंगलबार उनले माधव नेपालसँग मुख्यमन्त्रीको अफर आएकोबारे छलफल गरेकी थिइन्। त्यसमा माधव नेपालले पछिको कुरा नहेरी अहिले मुख्यमन्त्री बनिहाल्नुस् भनेको ति नेताको दाबी छ ।
उनका अनुसार माधव नेपालले नयाँ दल खोलेपछि आफू अल्पमतमा पर्नेबारे शाक्य जानकार थिइन् । फुटको असर बागमती प्रदेश सभामा पनि देखिने पक्का छ। बागमतीमा अहिले एमालेसँग सुविधाजनक बहुमत छ, तर माधवकुमार नेपालको नयाँ पार्टी बन्दै गर्दा त्यो बहुमत कायम नरहने लगभग निश्चित छ।
पछिल्लो समीकरणबारे नवनियुक्त मुख्यमन्त्री शाक्य स्वयं पनि जानकार छिन्। उनले बुधबार मुख्यमन्त्री नियुक्त हुँदै गर्दा आफूनिकटहरुलाई पनि यसबारे बताएकी थिइन्। उनले माधव नेपालको नयाँ पार्टी, नेकपा एमाले समाजवादीले निर्वाचन आयोगबाट दलको मान्यता पाउनसाथै उनको सरकार अल्पमतमा पर्नेछ। यो सबै जान्दाजान्दै उनी किन मुख्यमन्त्री बन्न तयार भइन् भन्ने सर्वत्र चासको विषय बनेको थियो ।
सबैतिर चासो हुँदैगर्दा यसको पछाडी अर्थपूर्ण कारण भएको भेटिएको छ । शाक्यनिकट नेताका अनुसार यसका पछाडि खास कारण छ। अहिले नै मुख्यमन्त्री नबदलेको भए माधव नेपालको अर्को पार्टी बन्नसाथै कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउँने पाका थियो ।
अविश्वास प्रस्तावसँगै मुख्यमन्त्रीको नाम प्रस्ताव गर्नुपर्ने अवस्था हुन्छ । यदि अविश्वासको प्रस्ताव आएको खण्डमा मुख्यमन्त्री कांग्रेस वा माओवादीकै हुने निश्चित थियो । तर अहिले मुख्यमन्त्री बन्दा कांग्रेस र माओवादीले त्यो मौका पाउँदैनन्, एक महिनाभित्र अर्को समीकरण विकास गर्न वा अरुको समर्थन लिएर यही सरकारलाई निरन्तरता दिन सकिन्छ भनेर उनी मुख्यमन्त्री बनेको ति नेताको दाबी छ ।
पछिल्लो समय शाक्यले एकताको आवाज उठाएकाले शाक्यलाई ओलीले पनि विश्वास गर्ने अवस्था बनेको थियो । यहि मौकाको फाइदा उठाएर उनी मुख्यमन्त्री बनेको नेपाल समूहका नेताहरूको दाबी छ।

