एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक) दर्ता नहुने, अर्कै नामको खोजी जारी

नेकपा एमालेबाट विभाजित एमाले (समाजवादी) र जनता समाजवादी पार्टीबाट विभाजित जसपा (लोकतान्त्रिक) त्यही नाममा निर्वाचन आयोगमा दर्ता नहुने भएका छन् । निर्वाचन आयोगले एमालेबाट विभाजित भएको प्रस्तावित एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुरलाई अर्को नाम लिएर आउन मौखिक आग्रह गरिसकेको स्रोतले जनाएको छ ।

आयोगका एक पदाधिकारीले भने, ‘उहाँहरुलाई आयोगको तर्फबाट यसअघि दर्ता कायम रहेका दलको नाम र चुनाव चिह्नसँग मेल खाने अर्को दल दर्ता गर्न कानूनले पनि मिल्दैन र फागुन २३ को सर्वोच्चको फैसलाले पनि मिल्दैन भनेर अर्को नाम लिएर आउन भनिसकेका छौं ।’



आयोगमा यसअघि गत बुधबार दल दर्ताका लागि दिएको निवेदन यथावत रहे पनि संशोधित नियमावली अनुसार अनुसूची भर्नका लागि अनुसूची फारम आज दुवै पक्षलाई उपलब्ध गराइने आयोग स्रोतले जनाएको छ । उनीहरु अनुसूची भरेपछि दल दर्ता प्रक्रिया अघि बढ्नेछ ।

अहिले माधव नेपाल पक्ष नेकपा एमाले (समाजवादी) नाम राख्न नमिल्ने भएपछि अर्को नामको छलफलमा छ । नेकपा (समाजवादी)मात्र राख्नेबारे पनि छलफल भइरहेको स्रोतले जनाएको छ । नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता रहेका कारण सर्वोच्चको फैसला र दलसम्बन्धी ऐनले सोही नामको अर्को दल कोष्टमा समाजवादी राखेर दर्ता हुन नसक्ने आयोगले जानकारी दिइसकेको छ ।

सम्बन्धित समाचार