नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ भदौ ।

सभामुख अग्निप्रसाद सापकोटा कार्यालयमा उपस्थित नभएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सभामुखको च्याम्बरबाट बाहिरिएका छन् । आज (शुक्रबार) एमलेलेले कारवाही गरेका १४ जना सांसद् पदमुक्त गरेको सूचना टाँस गर्न माग गर्दै सभामुखको च्याम्बर घेराउ गरेका थिए ।
हिजो (बिहीबार) सभामुखले एमालेले कारबाही गरेको सांसद्लाई पदमुक्त गर्ने प्रतिबद्धता जनाएपनि सभामुखले यस विषयमा कार्यान्वयन नगरेको एमाले सांसद् शान्ता चौधरीले बताइन् । चौधरीले पत्रकारहरूसँग भनिन्, ‘हामीलाई उहाँ भागेको आभास भयो । उहाँ किन त्यसो गर्दै हुनुहुन्छ ? उहाँ कुनै दलको कार्यकर्ता होइन, एउटा संस्था हो ।’
यस अघि हिजो (बिहीबार) एमालेका नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, महेश बस्नेत लगायतले सभामुख सापकोटासँग छलफल गर्दै १४ जना सांसदलाई पदमुक्त गर्न माग गरेका थिए । च्याम्बर घेराउ गर्ने नेतामा गोकुल बाँस्कोटा, खगराज अधिकारी, लालबाबु पण्डित, शान्ता चौधरी, थममाया थापा, निरु पाल, राजेन्द्र गौतम, कृष्ण पोखरेललगायत रहेका छन् ।
पार्टीको तर्फबाट कारवाही गरिएको लिखित जानकारी गराएको ४८ घण्टा बित्न लाग्दासमेत सूची टाँस नभएकाले बिहिबार एमालेले सभामुख सापकोटालाई भेटेर ध्यानाकर्षण गराएको थियो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को नियम ३५ को उपनियम ३४ ले सूचना दर्ता भएको १५ दिनभित्र सभामुखले संसद चलेको भए सदनमा जानकारी गराउने नभए सूचना टाँस गर्ने व्यवस्था छ ।
प्रतिनिधिसभामा विश्वासको मत लिन खोज्दा विश्वासको मत नदिएर ह्वीप उल्लंघन गरेको भन्दै एमालेले माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ मेटमणि चौधरीलाई पदमुक्त गर्न संसद सचिवालयमा निवेदन दिएको थियो।

