भीम रावलको नेतृत्वमा अर्को २० प्रतिशतको खेल सुरू, तीन टुक्रा हुँदै एमाले

नेकपा एमाले तीन टुक्रामा विभाजित हुने संकेत देखिएको छ । एमाले विभाजन हुँदा कतै नलागेको बताएका नेताहरूले एमालेमा फरक पार्टीको अभ्यास गर्नेगरी आफ्नो तयारी अगाडी बढाएपछि यस्तो संकेत देखिएको हो ।खासगरी एमालेका अध्यक्ष केपी शर्मा ओलीले विहीबार एक कार्यक्रममा पिलो निचोरिएको तर खील निस्कन अझै बाँकी रहेको बताएपछि माधव नेपालको साथ छाडेका नेताहरू तर्सिएका छन् । त्यसलगत्तै एमाले उपाध्यक्ष समेत रहेका नेता भीम रावलले नयाँ अभ्यासको सुरुवात गरेका छन् ।

विभाजनपछि माधवकुमार नेपाल पक्षमा नगएका एमालेका रावललगायतका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सके सुधार्न नसक्ने देखेपछि विद्रोह गर्ने तयारी बारे छलफल गरेका छन् । एमाले फुटाएर नयाँ दल दर्ताको निवेदन दिएका माधव नेपालले आफूहरूलाई महत्व नदिएर तेस्रो तहका नेताहरूलाई लिएर अगाडी बढेपछि नेपाल समूहमा तत्काल नजाने जनाएका नेताहरूले फरक रणनीति बनाउन बैठक नै बोलाएका छन् ।



एमाले विभाजन भैसक्दा पनि नेता नेपाललाई साथ नदिएर कतै नलाग्ने भनेका नेताहरूले ओली पक्षमा नै रहनुले एमाले फेरि फुट्ने प्रष्ट संकेत गरेको छ । सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतका नेताहरुले ओली पक्षमा विद्रोहको तयारी गर्ने देखिएको हो ।

भीम रावल एमाले विभाजनको तयारी हुँदैगर्दा माधवलाई साथ दिएका नेता हुन् । तर पछिल्लो समय एमाले एकताका लागि भन्दै ओलीप्रति नरम बन्दै माधवको साथ छोडेका थिए । रावलले माधवको साथ छोड्लान भनेर आंकलन भने गरिएको थिएन । एमाले विभाजन भएपछि उनले माधव नेपालको साथ छोडे ।

पछिल्लो विकशित घटनाक्रम अनुसार उनीहरू माधव समूहमा पनि नजाने र छुट्टै विद्रोह गर्नेगरी तयारी गरिरहेको बुझिएको छ । माधवको साथ छोडेका नेताहरुले अध्यक्ष ओलीलाई भेटेर सहमतिको नयाँ बिन्दु खोज्न आग्रह गरेका थिए । तर उनीहरुको आग्रहलाई ओलीले वास्ता नगरेको नेताहरुको भनाइ छ ।

नयाँ अध्यादेशकै कारण अब पार्टी विभाजनको लागि २० प्रतिशत पुर्‍याउन सहज हुने भएकाले पनि उनीहरूले यस्तो तयारी गरेको बुझिएको छ । ओलीसँग अझै एक पटक अन्तिम प्रयास गर्ने र कुनै हालतमा नमिल्ने देखिएमा नयाँ रणनीति अनुसार विद्रोह हुने नेताहरूको दाबी छ ।

सम्बन्धित समाचार