नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ भदाै ।

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले निर्वाचन आयोगमा दल दर्ता हुनेबित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् । उनले माधवकुमार नेपालको साथ छाडेका भनिएका नेताहरू पनि अबको पाँच दिनभित्र आफूहरूकै पार्टीमा आउने दाबी समेत गरे ।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, ‘म भन्न चाहन्छु– पाँच दिनभित्र सबैजना उहाँहरू नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा फर्कनुहुन्छ । निर्वाचन आयोगले ९ गते सनाखतका लागि बोलाएको छ । त्यसपछि दल दर्ताको प्रमाणपत्र प्राप्त हुन्छ । हामी सरकारमा जाने ढोका खुल्छ ।’
नेकपा एमालेले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरूले नयाँ पार्टी स्थापना गर्नुपरेको जिकिर उनले गरे ।

