नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ भदाै ।

माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी गठनको प्रकृया अगाडि बढाएसँगै नेताहरुले नयाँ पार्टीका गतिविधिलाई तीब्रता दिएका छन्। यसअघि एमालेमा समानान्तर गतिविधि गर्दै आएको नेपाल–खनाल पक्ष अब भने नयाँ पार्टीकै व्यानरमा पार्टी निर्माणमा जुटेको हो।
एकीकृत समाजवादी पक्षधर नेताहरुले आफ्नो निर्वाचन क्षेत्रमा शुक्रबारदेखि नै भेला, बैठक र संगठन विस्तारको कामलाई तीब्रता दिएका छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्र काठमाडौँ–२ मा शनिबार भेला आयोजना गरिएको छ।
काठमाडौँको महत्वपूर्ण क्षेत्रमा मानिने र सर्वाधिक चासोपूर्वक हेरिएको काठमाडौँ–२ मा उनले पार्टी निर्माण र संगठन विस्तारलाई गति दिएका हुन्। मुलपानीस्थित नर्लिङ रिसोर्टमा नेपाल पक्षका कार्यकर्ताले क्षेत्रीय भेला आयोजना गरेर पार्टी निर्माणमा जुटेको नेता शम्भु दुलालले जानकारी दिए।
त्यस्तै नेपाल पक्षमा लागेका काठमाडौँ ८ का सांसद जीवनराम श्रेष्ठले पनि आफ्नो क्षेत्रमा संगठन विस्तारको कामलाई अघि बढाएका छन्। उनले शनिबार भेला राखेर नयाँ पार्टी निर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन दिए।
ओलीलाई साथ दिँदै आएर पछिल्लो समय नेता नेपालसँग पार्टी विभाजको कित्तामा उभिएका तनहुँका सांसद किसान श्रेष्ठ पनि जिल्ला पुगेर पार्टी निर्माणमा जुटेका छन्। उनले शुक्रबार नै जिल्ला स्तरीय भेला राखेर वडा स्तरमा संगठन बनाउन आग्रह गरेका छन्।

