नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ भदौ ।

नेकपा एमालेले कारबाही गरेका सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारबाही गर्न नमिल्ने लुम्बिनी प्रदेशसभा सचिवालयले बताएको छ । लुम्बिनी प्रदेशसभाले नेकपा एमालेलाई पत्र पठाउँदै सांसदद्वय शाही र वलीमाथि एमालेले गरेको कारवाही प्रक्रिया अमान्य ठहर गरेको हो ।
यसअघि एमालेले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै सांसद शाही र वलीलाई कारबाही गर्ने निर्णय गरेको थियो । एमालेले कारबाहीको माग गर्दै उनीहरुलाई पदमुक्त गर्न सभामुखसमक्ष पत्र दिएको थियो ।
प्रदेशसभा सचिवालयले एमालेलाई पठाएको पत्रमा प्रदेशसभा नियमावलीको अनुसूची ७ अनुसार दलले भर्ने फारममा सांसद विमला वली र सांसद अजय शाही दुवैको नाम दलका सदस्यका रुपमा समावेश गरेको भए पनि उनीहरुले भर्ने अनुसूची ६ अनुसारको व्यक्तिगत व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको प्रस्ट पारेको छ ।
त्यस्तै, एमालेले प्रदेश सभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरुको नाम समावेश गरेपनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको भनी एमालेलाई पत्र दिइएको छ । प्रदेश सांसद शाही र वलीलाई पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गर्दै आएको थियो ।
यस्तै, एमालेलाई पठाएको जवाफी पत्रमा अजय शाही निर्वाचनमा स्वतन्त्र समूहबाट सहभागी भएको र उनको व्यक्तिगत विवरणमा पनि स्वतन्त्र समूहको तर्फबाट प्रदेशसभा सदस्य रहेको उल्लेख भएको कारण उनलाई पदमुक्त गर्न नमिल्ने उल्लेख छ ।

