मन्त्री छान्न देउवालाई सकस, भागमा पर्यो ४ मन्त्री, आकाँक्षी १७ जना

प्रधानमन्त्री शेरबहादुर देउवा माधव नेािलको पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ता भएकै दिन मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । तर देउवा आफ्नै पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै भएकोले सकसमा परेका छन् ।

प्रधानमन्त्री देउवाले कांग्रेसका लागि सात मन्त्रालय आफूसँग राखेर नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (प्रस्तावित दल) र जसपाका लागि छ-छ मन्त्रालय छुट्टयाएका छन्। प्रधानमन्त्री बन्न सघाउने दलहरुलाई पनि सरकारमा सहभागी गराउनुपर्ने भएका कारण कांग्रेसको भागमा कम मन्त्रालय परेका छन्। यस्तो अवस्थामा मन्त्रीका आकांक्षी व्यवस्थापन गर्न देउवालाई हम्मेहम्मे परेको छ।



कांग्रेस संस्थापन समूहले यसअघि नै दुई मन्त्री र एक राज्यमन्त्री पाइसकेको छ। अब बाँकी रहेका चार मन्त्रालयमध्येबाट संस्थापन इतर समूहले उपप्रधानसहित मन्त्रालय मागेको र ‘तेस्रो धार’को नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलालाई पनि मन्त्रालय दिनुपर्ने बाध्यात्मक अवस्थामा प्रधानमन्त्री देउवा छन्।

कांग्रेसको संस्थापन समूहबाट पुष्पा भुसाल, डा डिला संग्रौला, देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर, भरत शाह, डा नारायण खड्का आकांक्षी देखिएका छन्। संस्थापन इतर समूहले महामन्त्री डा। शशांक कोइराला र केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र सुजाता कोइरालामध्ये कुनै एक जनालाई उपप्रधानमन्त्रीसहित मन्त्रिमण्डलमा सहभागिताका लागि सिफारिस गर्ने निर्णय यसअघि नै गरिसकेको छ।

इतर समूहबाट डा मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडू पनि मन्त्री बन्ने ‘लबिङ’ मा छन्। यस्तै संस्थापन समूह छाडेर इतर समूहमा गएका रुपन्देहीका सांसद विजय यादव, सप्तरीका तेजुलाल चौधरी, उदयपुरकी प्रमिला राई पनि आकांक्षीका रुपमा देखिएका छन्। यस्तै १३ औं महाधिवेशनदेखि कांग्रेसमा ‘तेस्रो धार’ भनिने सिटौला समूहबाट सांसदहरु गगन थापा, भीमसेनदास प्रधान र उमाकान्त चौधरी पनि आकांक्षी छन्।

सम्बन्धित समाचार