मुख्यमन्त्री कुलप्रसाद केसीले पाए विश्वासको मत

लुम्बिनी प्रदेशको प्रदेशसभाको बैठकमा आज(सोमबार) मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदको विरोधका बीच केसीले विश्वासको मत मागेका थिए ।

आज (सोमबार) बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान हुँदा केसीको पक्षमा ४२ मत खसेको थियो भने एक जना तटस्थ रहे । केसीको विपक्षमा भने कुनै मत खसेको थिएन । नेकपा माओवादी, नेपाली काँग्रेस, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्री केसीले गत साउन २७ गते सरकारको नेतृत्व गरेका हुन् ।



त्यस्तै सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे । यस्तै मुख्यमन्त्री केसीले प्रदेश सरकारले आफ्नो मूल्य र मान्यता अनुसार काम गर्ने प्रतिवद्धता जनाए । त्यस्तै केसीले कुनै प्रकारको दम्भ र अहङ्कार बिना नै आफ्नो नेतृत्वको सरकारले जनताको पक्षमा विनम्रतापूर्वक काम गर्ने बताएका छन् । प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार गरेको थियो ।

एमालेले प्रदेशसभाका दुई सांसद अजय शाही र विमला खत्री वलीलाई कारबाही नगरेसम्म प्रदेशसभाको बैठकमा सहभागी नहुने बताएको छ । मत माग्ने क्रममा कोहि पनि एमालेका सांसदको उपस्थिति थिएन ।

 

सम्बन्धित समाचार