नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ भदाै ।

प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले चन्द्रागिरी हिल्स रिसोर्टको कोठा बुक गराएका छन्। नेकपा एमालेबाट विभाजन भएपछि नयाँ पार्टी सनाखतको लागि निर्वाचन आयोगले बुधबार बोलाएपछि छलफल गर्न आफू निकट नेताहरू राख्न नेपालले रिर्सोट बुक गराएका हुन्। एमाले अध्यक्ष केपी ओलीले चलखेल गर्न थालेपछि नेपाल पक्षका नेताहरुलाई रिसोर्टमा राखिएको स्रोतको दाबी छ ।
करिब एक सय जना अट्ने गरी रिसोर्ट बुक गरिएको छ । नयाँ पार्टीको बिषयमा अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल गर्नका लागि माधव नेपाल पनि रिसोर्टमै रहेको बताइन्छ । नेताहरू दायाबायाँ हुनसक्ने भएकाले निर्वाचन आयोग जानुअघि सोही ठाउँमा बस्ने तय भएको स्रोतको दाबी छ। नेता नेपालले आजै राष्ट्रपति विद्यादेवि भण्डारीसँग समेत भेटवार्ता गरेको थिए।
पार्टी विभाजनको बेलामा नेता नेपाल छाडेर मध्यमार्गी बनेका नेताहरूले भने अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेका छन्। विवाद समाधान कार्यदलले गरेको १० बुँदे सहमतिलाई कार्यान्वयन गरेर अघि बढ्ने गरी सहमति गरेका हुन्।
अध्यक्ष ओलीले नेपाल समूह पार्टी दर्ता प्रक्रियाबाट फिर्ता भए कारबाही रोकिने प्रतिबद्धता जनाएको नेता योगेश भट्टराइले बताएका छन्। ओलीले नेता नेपाल छाडेका नेताहरू उपस्थित हुनेगरी भोलि ११ बजेको लागि स्थायी कमिटी बैठक बोलाएका छन्।

