नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ भदाै ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले विभाजनमा वरिष्ठ नेता माधवकुमार नेपालको साथ छाडेका ‘एकता पक्षधर नेताहरू’बीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ। सहमति अनुसार मंगलबार स्थायी कमिटीको बैठक बोलाइएको छ, जसले १० बुँदे अनुसार २०७५ साल जेठ २ गते कायम भएका नेकपा एमालेका कमिटीहरू क्रियाशील बनाउने कार्यतालिका बनाउने नेताहरूले बताएका छन्।
ओली निवास बालकोटमा सोमबार भएको छलफलमा १० बुँदे कार्यान्वयनका लागि मोडालिटी तयार पार्न स्थायी कमिटी बैठक बोलाइने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए। भट्टराईले भोलि नै २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति बैठक बोलाएर अघि बढ्ने सहमति प्रतिक्रिया दिए। २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति भन्नुको अर्थ रामबहादुर थापा ‘बादल’ समूह (पूर्व माओवादी समूह) बाहेकको बैठक भनेर बुझ्नु पर्ने बैठकमा सहभागी एक नेताले बताए। बादल समूहबारे एमालेको संयुक्त बैठक पश्चात् निर्णय लिइने बताइन्छ।
ओलीसँगको छलफलपछि नेकपा एमालेका सचिव समेत रहेका प्रदीप ज्ञवालीले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्न अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले सहमति जनाएको बताए। लामो समय माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको नेतृत्वको नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरूले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न नेतृत्वलाई अल्टिमेटम दिएका थिए। अल्टिमेटमको अन्तिम दिन सोमबार एकता पक्षधर नेताहरूले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलसँग छलफल गरेका थिए।
१० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समय तालिका तय गर्न तीन सदस्यीय कमिटी गठन भएको छ। कमिटीमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उप-महासचिव विष्णु पौडेल सदस्य छन् । यो कमिटीले स्थायी मंगलबारको बैठकअघि प्रस्ताव तयार गर्ने बताइएको छ ।

