मूल्यवृद्धि बाध्यता : आयल निगम

नेपाल आयल निगमले पेट्रलियम पदार्थमा भएको मूल्य वृद्धिलाई लिएर सोमबार साँझ एक विज्ञप्ति प्रकाशन गरी यसलाई निगमको बाध्यता भनेको छ । सोमबार राति १२ बजेदेखि पुनः पेटोलियम पदार्थमा मूल्य वृद्धि गर्ने निर्णय गरेपछि उक्त निर्णयको बचाउ गर्दै निगमले प्रेस विज्ञप्तिमार्फत सो भनाइ राखेको हो ।

विज्ञप्तिमा अगाडि भनिएको छ– इण्डियन आयल कर्पोरेशनबाट यसअघि पटक पटक मूल्य वृद्धि भएको सूची प्राप्त हुँदासमेत नेपाल आयल निगमले मूल्य समायोजन गरेको थिएन । श्रावण ३२, २०७८ मा पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार निगमलाई इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यअनुसार कोभिड निषेधाज्ञाको समयमा भएको विक्री परिणाम्लाई आधार मान्दा १५ दिनमा मात्रै करिब ११५.२२ करोड रुपैयाँ घाटा हुने अवस्था देखिन्छ । निगमको घाटा निरन्तर रहि नै रहने तथा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन हुने क्रम नरोकिने हो भने निगमले आगामी दिनमा समेत पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनुपर्ने बाध्यता आउन सक्ने देखिन्छ । तसर्थ स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ठ गरेअनुसार २०७८ भाद्र ७ गते सोमबार राति १२ बजेदेखि लागुहुने गरी पेट्रोल, डिजेल, मट्टिलेल, आन्तरिकतर्फको हवाइ इन्धनमा साविकको बिक्री मूल्यमा २ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रति किलोलिटर १६ अमेरिकी डलर बृद्धि गरिएको छ ।



मूल्य समायोजनपश्चात पनि निगमलाई पेट्रोलमा प्रति लिटर ८.४२ रुपैयाँ, डिलेलमा २.६४ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर ४२०.७५ रुपैयाँ घाटा नै हुने निगमले बताएको छ । मूल्य समायोजनपश्चात् काठमाडौंमा पेट्रोल, डिजेल-मट्टितेल तथा आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रति लिटर क्रमशः १३०, ११३ र ८६ रुपैयाँ कायम हुने छ ।

सम्बन्धित समाचार