कुलमानको नियुक्तिविरूद्धको रिट प्रधानन्यायाधीश राणाको बेञ्चमा

सर्वोच्च अदालतले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध परेको रिटमाथि सुनुवाइका लागि आज पेशी तोकेको छ। उक्त पदमा आफू रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत भएको भन्दै हितेन्द्रदेव शाक्यले रिट दिएका थिए।

उक्त रिट मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा परेको छ। आफू पदमा रहँदा रहँदै कुलमानलाई गरिएको नियुक्ति कानूनविपरीत भएको भन्दै शाक्य अदालत गएका थिए। साउन २५ गते बसेको मन्त्रिपरिषद बैठकले आफूलाई ऊर्जा आयोगको विज्ञको रूपमा नियक्ति गरेकोमा पनि उनले असन्तुष्टि जनाएका छन्।



आफूले उक्त पद स्वीकार नगर्दै आफूलाई विस्थापित गर्न कुलमानलाई नियुक्ति गरिएको शाक्यको जिकिर छ। मन्त्रिपरिषदका निर्णयले आफूलाई संविधानले दिएको पेशा रोजगार गर्न पाउने स्वतन्त्रता, समान संरक्षणको हक, इच्छाविरूद्ध काममा लगाउन नपाइने हक लगायतका हक हनन गरेको शाक्यको रिटमा उल्लेख छ।

यसअघि उक्त रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको थियो तर पछि न्यायाधीश रेग्मीले उक्त दिन हेर्न नभ्याइनेमा राखेका थिए।

सम्बन्धित समाचार