नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ भदौ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने भएको छ । आज बिहानै बस्ने भनिएको बैठक ३ बजेको लागि सारिएको हो ।
बैठकम माधवकुमार नेपाल समूहमा रहेका नेताहरुको सहभागीता रहनेछ । १० जना स्थायी कमिटी सदस्यहरु झण्डै ६ महिनापछि पार्टी बैठकमा उपस्थित भएका हुन् । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्ने नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । सोमबारको छलफलमा यसअघि एमाले विवाद समाधान गर्न गठिन कार्यदलले तय गरेको १० बुँदे सहमति कार्यान्वयन गर्ने समझदारी भएको थियो ।
नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवदेन दिएपछि केही नेता ओली र नेपाल दुवैतिर खुलेका छैनन्। उनीहरूले पार्टी एक ढिक्का हुनुपर्नेमा जोड दिँदै आएका छन् । पार्टी एकताका लागि ओली लचक हुनुपर्ने र नेपालले पनि नयाँ दल खोल्न नहुनेमा उनीहरूको जोड छ ।
बैठकमा सहभागी हुन उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त र आमन्त्रित सदस्य एवं अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहरा पुगिसकेका छन् ।

