नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ भदाै ।

नेकपा एमालेको स्थायी कमिटी वैठक विभिन्न निर्णय गर्दै सकिएको छ । माधव नेपालसँग अलग्गिएको मध्यमार्गी समूहसहित पूर्वमाओवादी समूहसमेत यो बैठकमा सहभागी भएको थियो । बैठकले सभामुख अग्निप्रसाद सापकोटाले सभामुखको भूमिका निर्वाह गर्न नसकेको निष्कर्ष निकालेको छ ।
स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता प्रदिप ज्ञवालीले एमालेका लागि एउटा र परमादेशबाट आएका दललाई अर्को कानुन रहेको जस्तो व्यवहार सभामुखबाट भएको बताए ।
बैठकपछि एकताको सन्देश दिन सामूहिक फोटोसेसन गरियो । फोटोसेसन गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीको दायाँ र बायाँ क्रमश: उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावल थिए । उनीहरू दुवै माधव नेपालबाट अलग भएर मूलधारमा आएका हुन् ।
एमाले पार्टी कार्यालयमा रहेको तुल्सीलाल अमात्यको सालिकअगाडि फोटोसेसन भएको थियो । तस्बिरमा सबै नेताहरू हर्षित मुद्रामा देखिएका छन् । गत पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि स्थायी कमिटी बैठकमा पहिलोपटक माधव नेपाल समूहको ठूलो हिस्सा सहभागी भएको हो ।

