नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ भदाै ।

नेपालका प्रमुख ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशनको मिति जुधेको छ । कांग्रेसले आगामी मंसिर ९–१४ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिसकेको अवस्थामा मंगलबारको एमाले स्थायी कमिटी बैठकले मंसिर १०–१२ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।
दुवै पार्टीको महाधिवेशन काठमाडौंमै हुनेछ । देशभरका प्रतिनिधि सहभागी हुने महाधिवेशन दुवै पार्टीले एकै समय र स्थानमा गर्न लागेका छन् । कोरोना भाइरस संक्रमणको महामारीका कारण भौतिक दूरी र भीडभाड गर्न नहुने अवस्थामा राजधानीजस्तो भीडभाड बढी हुने क्षेत्रमै दुवै पार्टीले महाधिवेशन तोकेका छन् ।
कांग्रेसले भदौ १८ गते वडा अधिवेशन गरेर केन्द्रीय महाधिवेशन २०७८ मंसिर ९–१३ गतेसम्म गर्दैछ । एमालेले मंसिर १०–१२ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ । मंगलवार तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको एमाले स्थायी कमिटी बैठकले महाधिवेशनको मिति तय गरेको हो ।
मंसिर १०, ११ र १२ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

