नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ भदौ ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावल र पार्टी दर्ता प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार साँझ फोनवार्ता भएको छ । फोनवार्तामा नेपाललाई नयाँ पार्टी दर्ताको प्रक्रिया रोकेर एमालेमै फर्किन रावलले आग्रह गरेका हुन् ।
झन्डै ६ महिनापछि पार्टी बैठकमा उपस्थित भएका रावलले निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया रोक्न र एमालेमै फर्केर मिलेर संघर्ष गर्न प्रस्ताव गरेका हुन् । तर, उनको प्रस्तावमा नेपालले कुनै प्रतिक्रिया नदिएको एक स्रोतले जानकारी दिएको छ । मंगलबार बसेको स्थायी समिति बैठकले नेपालसहित सबै नेतालाई पार्टीमा फर्किन आग्रह गर्ने निर्णय गरेको थ्यो ।
त्यस्तै बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्न महासचिव ईश्वर पोखरेलसहितको कार्यदल गठन गरेको छ । कार्यदलमा उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथा लेखराज भट्ट रहेका छन् ।

