नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ भदौ ।

महन्थ ठाकुर पक्षको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू निर्वाचन आयोगमा सनाखत गरेर फर्केका छन् । आयोगमा महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरुले लोकतान्त्रिक समाजवादी दर्ता गर्न निवेदन दिएका थिए ।
सनाखतका लागि आयोगले बिहान ११ देखि २ बजेसम्मको समय दिएको थियो । त्यस्तै आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो । सनाखत गर्न लोकतान्त्रिक समाजवादी १४ सांसद र १७ जना केन्द्रीय सदस्यहरु आयोग पुगेका थिए । सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने अध्यादेश ल्याएपछि महन्थ ठाकुर पक्षलाई नयाँ पार्टी दर्ता गर्नको लागि बाटो खुलेको थियो ।
सनाखत गर्ने १४ सांसदहरुमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा, शेखरकुमार सिंहरहेका छन् । ठाकुरको पक्षमा १४ सांसदले सनाखत गरेसँगै पार्टीले वैधानिकता पाउने निश्चित भएको हो ।

