नयाँ पार्टी दर्ता गरेपछि प्रमुख निर्वाचन आयुक्तलाई रामकुमारी झाँक्रीले लगाइन् यस्तो आरोप

नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीको नेता एवं सांसद रामकुमारी झाँक्रीले अहिलेको अवस्था आउनुमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको ठूलो भूमिका रहेको आरोप लगाएकी छन् । एकीकृत समाजवादीको पक्षमा खुलेर निर्वाचन आयोगमा नै पुगेका सांसदहरू झलनाथ खनाल, सोमप्रसाद पाण्डे, माया ज्ञवाली, शारदा भट्ट र केही केन्द्रीय सदस्यलाई सनाखत गर्न आयोगले अस्वीकार गरेपछि बुधबार झाँक्रीले उक्त आरोप लगाएकी हुन् ।

‘पार्टी विभाजन गरेर यो ठाउँमा आइपुग्नका लागि प्रमुख आयुक्तको धेरै ठूलो भूमिका छ,’ झाँक्रीले भनिन् । तत्कालीन नेकपाभित्रको विवाद चर्किएको अवस्थामा २०७७ पुस महिनामा बहुमत पक्षलाई आयोगले आधिकारिकता दिन अस्वीकार गरेको थियो । ‘गत पुसमा आयोगले निर्णय नगर्नाले आजको अवस्था आएको हो,’ उनले भनिन् ।



प्रमुख निर्वाचन आयुक्त थपलियाको उक्त भूमिका बिर्सने अवस्था आफूहरू रहेपनि अहिले आयोगले सम्झाएको झाँक्रीको भनाइ थियो । ‘प्रमुख निर्वाचन आयुक्तको त्यो भूमिकालाई बिर्सिने अवस्थामा थियौं । उहाँले एमालेका २ सय ३ जना केन्द्रीय सदस्य र १ सय ५४ जना संघीय सांसदहरूको सूचीबाट नेकपा (एकीकृत समाजवादी)मा रहन चाहन्छौं भन्नेलाई छनोट गर्न दिनुपर्छ, उनले भनिन् । भारतको दिल्लीमा उपचाररत झलनाथ खनालको पनि आयोगले सनाखत गर्न अस्वीकार गरेको थियो ।

सम्बन्धित समाचार