नवकान्तिपुर संवाददाता
काठमाडौं, १० भदौ ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले आफ्नो राजीनामा एकदुई दिनभित्रै एमाले कार्यालयमा पठाइदिने जानकारी दिए ।
त्यस्तै गौतम आज (बिहीबार) बस्ने केन्द्रीय समिति बैठकमा समेत सहभागी नहुने भएका छन् । केपी ओली र आफ्नो विचारमा मेल नखाएको भन्दै गौतमले राजीनामा दिने निर्णय गरेका हुन् । राजीनामा दिएसँगै उनी माधव नेपालको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा जाने आंकलन गरिएको छ ।
हिजो(बुधबार) पार्टी दर्ता लगत्तै माधव कुमार नेपाल र बामदेव गौतमबीच फोनवार्ता भएको थियो । फोनवार्तामा गौतमले नेपाललाई छिट्टै नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने बताएका हुन् । यस्तै पार्टी विभाजन पछि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। पार्टी विभाजन भएपछि पहिलोपटक एमाले केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
बैठक तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा दिउँसो १२ बजेका लागि बोलाइएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

