नवकान्तिपुर संवाददाता
काठमाडौं, १० भदौ ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी विभाजन भएपछि पहिलोपटक एमाले केन्द्रीय कमिटी बैठक बसेको हो । बैठक तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसिरहेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्न आज केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।
बैठकमा पार्टीको आगामी महाधिवेशन, विधान महाधिवेशन, १० बुँदे सहमति कार्यान्वयन तथा सहमति कार्यान्वयनका सन्दर्भमा स्थानीय कमिटीको परिचालन एवम् पार्टी विभाजन गरी नयाँ पार्टीमा गएका नेता कार्यकर्तालाई कारबाही लगायतका विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
माधव कुमार नेपालको साथ छोडेका नेताहरुसहित मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीका स्थानीय कमिटीलाई व्यवस्थित गर्न देशैभर आगामी कार्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका वा सो सरहका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको थियो ।
त्यस्तै पार्टीको पछिल्लो निर्णय सम्प्रेषण गर्न यही भदौ १६ देखि २० सम्म केन्द्रीय प्रशिक्षकको उपस्थितिमा सबै जिल्लामा कार्यकर्ता भेला र जनसंगठनको केन्द्रीय कार्यकर्ताको भेला आयोजना गर्ने निर्णय स्थायी कमिटीले गरेको थियो ।

