नवकान्तिपुर संवाददाता
काठमाडौं, १० भदाै ।

नेकपा एमाले विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बने लगत्तै सरकारमा जाने तयारी सुरु भएको छ। नेकपा एमालेबाट विभाजित माधव नेपाल पक्षले सरकारमा माओवादी बराबरकै हैसियतामा सहभागिता पाउने भएको छ । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट लगभग टुंगिएको छ ।
स्रोतका अनुसार माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीले ६ जना मन्त्री पाउने भएको छ । ५ मन्त्रालयसहित एकजना राज्यमन्त्री पाउने तय भएको छ । दल दर्ताको प्रक्रिया टुंगिएलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउँदैछ ।
एमाले स्थायी कमिटी सदस्यबाट सरकारको नेतृत्व गर्दा मुकुन्द न्यौपाने र बेदुराम भुसाल छन् । न्यौपाने प्रतिनिधिसभामा समानुपातिक सांसद हुन भने भुसाल राष्ट्रियसभा सदस्य हुन्। भुसाल अहिलेसम्म मन्त्री भएका छैनन्, न्यौपाने पूर्वमन्त्री हुन् ।नेपालले बेदुराम भुसाललाई अवसर दिन चाहान्छन् । त्यस्तै बाँकी ४ र एक राज्यमन्त्रीमा प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगभग निश्चित छ ।
जीवनराम श्रेष्ठ र कृष्णलाल महर्जनमध्ये एकजना मेटमणि चौधरी र हिराचन्द्र केसीमध्ये एकजनाले मौका पाउने सम्भावना रहेको नेपालनिकट स्रोतले जनाएको छ । नेपाल समूहमै राष्ट्रियसभामा कलम चिह्नबाट विजयी भएका डा खिमलाल देवकोटाको नाम पनि चर्चामा छ । माधव नेपाललाई पार्टी विभाजनमा साथ दिएका लगभग सबै सांसदलाई सरकार पूरा अवधि चल्दा पालो गरेर मन्त्री बनाउने अनौपचारिक समझदारी बनेको छ ।
नेपालको पार्टीले उपसभामुख पनि पाउने सम्भावना छ । यद्यपि उपसभामुख, संसदीय समितिका सभापति र अन्य राजनीतिक नियुक्तिको बारेमा टुंगो लाग्न बाँकी छ । उपसभामुख पाएमा सरला यादवले पाउने सम्भावना रहेको छ।

