नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ भदाै ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा कुनै पनि छलफल नभएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जानकारी दिएको छ।प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिरहेका बेला नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा आफ्नो पार्टीसँग कुनै छलफल नभएको प्रस्ट पारेका हुन्।
बबरमहलस्थित आफ्नै पार्टीको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले पार्टी दर्ता नै भर्खर भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सोधे मात्रै सरकारमा जाने विषयमा आफूहरुले आवश्यक निर्णय गर्ने पनि स्पष्ट पारे।
अध्यक्ष ठाकुरले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरिनसकेको स्पष्ट पारे। उनले भने, ‘हामी सत्तारुढ गठबन्धनमा छैनौं। चुनाव घोषणा भएपछि त्यस विषयमा पनि विचार गरौंला।’

