विश्वासको मत नलिँदै मुख्यमन्त्रीबाट राजीनामा दिने तयारीमा अष्टलक्ष्मी

पार्टी फुट्ने निश्चित भएपछि हतारमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष उभिएर बागमती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य राजीनामा गर्ने मूडमा पुगेकी छन् । गत बुधबार मात्रै मुख्यमन्त्री बनेकी शाक्यलाई एमालेबाट विभाजित भएको नेकपा ढएकीकृत समाजवादीले समर्थन नगर्ने भएपछि विश्वासको मत पाउने सम्भावना छैन ।

उनी मुख्यमन्त्री बनेकै दिनदेखि एमाले विभाजनले औपचारिकता लिएको थियो । माधव नेपाल समूहमा लामो समय काम गरेकी नेतृ शाक्य ओलीको कट्टर आलोचकको रूपमा चिनिन्थिन । पछिल्लो समय मुख्यमन्त्री पदकै लागि नेपालको साथ छोडेर ओली समूहमा आएकी शाक्य पछुताउन थालेकी छन्।



अब शाक्यसँग दुई वटा विकल्प मात्र बाँकी छन् । उनले आफ्नो सरकार टिकाइराख्नका लागि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दलको पक्षमा जानुपर्ने हुन्छ । कि त उनले मुख्यमन्त्रीबाट राजीनामा नै दिनुपर्छ । उनी एमालेमै बस्न चाहे प्रदेशसभा भित्र एमालेको बहुमत नपुग्ने पक्का छ । माधव नेपाल समूहका नेताहरूले अब नेपाल समूहमा खुल्न दवाव दिइरहेका बेला उनी धर्मसंकटमा परेकी छन् ।

बागमती प्रदेशसभामा हाल १ सय ९ सदस्य छन् । त्यसमा एमालेका सभामुखसहित ५६ जना सांसद छन् । सरकारमा निर्माणमा सभामुखको मत प्रयोग हुँदैन । त्यसैले एमालेको एक जना मात्र संख्या कम हुँदा शाक्य नेतृत्वको सरकार अल्पमतमा पर्छ । वााग्मती प्रदेशसभामा यसअघिदेखि नै एमालेको ओली र नेपाल समूहबीच विवाद रहँदै आएको थियो । अहिले पार्टी विभाजनका क्रममा प्रस्तावित दल एकीकृत समाजवादीतर्फ ८ सांसद खुलिसकेका छन् । सो संख्या शाक्यलाई मुख्यमन्त्री हटाउनका लागि पर्याप्त हुन्छ ।

नेपाल समुहले भने अष्टलक्ष्मी आफ्नो पार्टीमा नआएको खण्डमा उनलाई हटाएर राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ । पाण्डेलाई कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट मुख्यमन्त्री बनाउने तयारी थालिएको हो। प्रदेशसभामा पाण्डेका अतिरिक्त मुनु सिग्देल, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, शान्ति पौडेल, पार्वती सिलवाल र रमा आले मगर नेपाल समूहमा खुलेका छन् ।

सम्बन्धित समाचार