नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ भदाै ।

दल विभाजनपछि नेकपा एमाले त्यागेर माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका प्रदेश १ का १० सांसदहरूले मंगलबारभित्र आफूहरूले समाजवादी दल रोजेको पत्र निर्वाचन आयोगलाई दिने तयारी गरेका छन् । उनीहरुले शनिबार विराटनगरको एक होटेलमा छलफल गरी यस्तो सामुहिक निर्णय गरेका हुन् ।
१० जना सांसदहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्री रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा थिए । उनीहरुले निर्वाचन आयोगमा मंगलबार आफूहरुले समाजवादी दल रोजेको पत्र दिने निर्णय गरेको हो । समाजवादीका नेता राजेन्द्रकुमार राईले सोमबार बिदा भएकाले मंगलबार निर्वाचन आयोगमा सनाखत गर्ने तयारी थालेको बताए । एकीकृत समाजवादीमा न्यूनतम १४ जना प्रदेश सांसद पु¥याउने उनको दाबी छ ।
निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि नियमावली बनाएर नपठाएकाले सनाखत गर्न ढिलाइ भएको बताए । बैठकमा सहभागी अर्को एक सांसदले भीम आचार्य नेतृत्वको सरकार ढल्ने र गठबन्धनको सरकार एक महिनाभित्र बन्ने निष्कर्ष निकालेको बताए ।

