नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ भदाै ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्ययन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने टुंगो लागेको छ। सत्तारुढ गठबन्धनका नेताहरुबीच यी दुई मन्त्रालय एकीकृत समाजवादीले लिने टुंगो लागेको हो।
प्रधानमन्त्री देउवाको मन्त्रिपरिषद्मा कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की क्रमशस् गृह र कानुनमन्त्री छन्। माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल क्रमशस् अर्थ र ऊर्जामन्त्री छन्। कांग्रेसबाट उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री रहे पनि मन्त्रालयको जिम्मा प्रधानमन्त्री देउवाले आफूसँग राखेका छन्।
अब कुन पार्टीलाई कतिवटा र कुन-कुन मन्त्रालय पर्छन् भन्ने टुंगो लागेसँगै मन्त्रीको पनि टुंगो लाग्ने र आउँदो १५ गतेभित्र सरकारले पूर्णता पाउने दाबी कांग्रेसका ती नेताले गरे।
यता दुईवटा मन्त्रालयको टुंगो लागेसँगै नेकपा (एकीकृत समाजवादी)मा मन्त्री को बन्ने भन्ने रस्साकस्सी सुरु भएको छ। नयाँ पार्टीको कामचलाउ स्थायी कमिटीको शुक्रबार बसेको बैठकले सरकारमा जाने औपचारिक निर्णय गरेको थियो। दुईवटा टुंगो लागेका मन्त्रालयमा एकीकृत समाजवादीभित्र चारजनाको दाबी छ। प्रेम आले, किसान श्रेष्ठ, धनबहादुर बुढा र गोपाल बमले यसमा दाबी गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छाडेर आएका आले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दाबी गरिरहेका छन्। आकांक्षी धेरै भएपछि मन्त्रीको नाम टुंगो लगाउन माधव नेपाललाई धौधौ परिरहेको छ ।

