नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ भदौ ।

नेकपा एकीकृत समाजवादीले मन्त्री छान्ने जिम्मा संसदीय दलको नेता तथा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । आज (आइतबार) नयाँ वानेश्वरमा बसेको संसदीय दलको बैठकले नेपाललाई मन्त्री छान्ने जिम्मा दिएको हो ।
बैठकमा सांसद विरोध खतिवडाले मन्त्री छान्ने अधिकार अध्यक्षलाई दिने प्रस्ताव गरेका थिए, जसलाई बैठकले अनुमोदन गरेको थियो । खतिवडाले भने ‘सधैं बैठक बसिरहन सम्भव नहुने भएकाले तत्काल गर्नुपर्ने निर्णय गर्न नेता माधवकुमार नेपाललाई अधिकार दिइएको छ’, ‘कति मन्त्री बनाउने, क-कसलाई बनाउने लगायतका विषयमा उहाँलाई अधिकार प्रत्यायोजन गरिएको छ ।’
यसअघि नै नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । त्यस्तै बैठकले नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य बेदुराम भुसाल राष्ट्रियसभा संसदीय दल नेतामा चयन गरेको छ । यस्तै बैठकले विधान मस्यौदा समिति बनाएको छ । समितिमा भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी रहेका छन् ।

