अष्टलक्ष्मीलाई हटाएर राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने गठबन्धनको तयारी

बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हटाएर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनले तयारी थालेको छ। डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य पार्टी विभाजनमा नलाग्ने भन्दै मुख्यमन्त्री बनेकी थिइन्। एमालेको एकल बहुमत रहेको बागमती प्रदेशसभामा लामो समय नेपालको साथमा रहेकी शाक्यले मुख्यमन्त्री पदका लागि ओली पक्षमा लागेको भन्दै आलोचना भइरहेको छ। पार्टी विभाजनमा साथ नदिएकाले नेपाल शाक्यसँग रुष्ट बनेका छन्।

ती सांसदका अनुसार एकीकृत समाजवादीमा खुलेपछि गठबन्धन बनाएर शाक्यलाई हटाउने तयारी भइरहेको छ। बागमती प्रदेशसभामा १०९ जना सांसदमध्ये एमालेको एकल बहुमत अर्थात् ५६ जना छन्। एमाले विभाजनबाट बनेको एकीकृत समाजवादीमा कम्तीमा १२ जना प्रवेश गर्ने तयारी भएको बुझिएको छ। ‘एमालेका हामी नेपालनिकट कम्तीमा पनि १२ जना सांसद नयाँ पार्टीमा जान्छौं।’



नेपाल निकट अर्का प्रदेशसभा सदस्यले भने, ‘अनि हेरौं न कसरी जोगाउँछिन् शाक्यले मुख्यमन्त्रीको कुर्सी ?’ प्रदेशसभामा नेपाली कांग्रेस र माओवादी केन्द्रका २३-२३ र समाजवादीको १० देखि १२ जना सांसदले बहुमत पुग्ने भएकाले समाजवादीका पाण्डेलाई मुख्यमन्त्री बनाउने गरी भित्रभित्रै छलफललाई तीव्रता दिइएको उनले खुलासा गरे।

पार्टी विभाजन भए पनि शाक्यले एमाले र समाजवादीको संयुक्त सरकार बनाउने भित्रभित्रै प्रयत्न गरेको बुझिएको छ। आफ्नो सरकार टिकाउन शाक्यले नेपालनिकट सांसदहरुलाई विभिन्न अवसरको प्रलोभन दिएको सांसद बताउँछन्। ‘नयाँ पार्टीमा नलाग्न र एमालेमै रहेर आफूलाई सघाउन विभिन्न प्रलोभन बाँड्नुभएको छ’, उनले भने, ‘विगतमा प्रतिगमनविरुध सँगै लड्दा पद र अवसरका लागि राजनीति गरेको होइन भन्नेबाटै अहिले हामीलाई अवसरको लोभ देखाउने काम होला भनेर सोचेका पनि थिएनौं।’

नेपालनिकट सांसद पार्टी दर्ता भएको मितिले २१ दिनभित्र समाजवादीमा खुलेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा पर्ने र उनले विश्वासको मत लिनुपर्ने अवस्थामा विश्वासको मत नपाई सरकार ढल्ने देखिन्छ। राजेन्द्र पाण्डेसहित प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्ण खनाल एकीकृत समाजवादीमा खुलिसकेका छन्।

यसका साथै प्रदेशसभामा सांसद मुनु सिग्देल, बसुन्धरा हुमागाईं, वसन्त मानन्धर, कुसुम कार्की, रमा आलेमगर, माधव पौडेल, लक्ष्मण लम्साललगायतले समाजवादी रोज्ने बुझिएको छ। हाल तीन सदस्यीय मात्रै रहेको शाक्य नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्रीमा ओली पक्षका केशवराज पाण्डे रहेका छन्।

सम्बन्धित समाचार