नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ भदौ ।
स्पेनिस क्लब बार्सिलोना छोडेर फ्रेन्च क्लब गएका लियोनल मेस्सीको डेब्यु खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ । आइतबार राति भएको खेलमा रेइम्स पीएसजीसँग २-० ले स्तब्ध हुन पुग्यो ।
मेस्सीले हिजो पीएसजीमा डेब्यु खेल खेलेका हुन् । ३० नम्बरको जर्सीमा देखापरेका मेस्सी खेलको ६६ औं मिनेटमा नेयमारको स्थानमा मैदान प्रवेश गरेका थिए । यद्यपि मेस्सीले डेब्यु खेलमा भने गोल गर्न सकेनन्। पीएसजीलाई जित दिलाउन दुवै गोल केलियन एम्बाप्पेले गरेका थिए ।
खेलको १६ औं मिनेटमा एम्बाप्पेले एन्जल डी मारियाको पासमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ६३ औं मिनेटमा एम्बाप्पले अच्राफ हाकिमीको पासमा गोल गर्दै पीएसजीलाई २-० को सहज जित दिलाए ।
जितसँगै पीएसजी ४ खेलमा १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने ३ अंक जोडेको रेइम्स रेलिगेशन क्षेत्रभन्दा एक स्थान माथि रहेको छ ।