नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ भदौ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । आज(सोमबार) बिहान भएको भेटवार्ता मन्त्रिमण्डल विस्तारबारे छलफल भएको हो ।
बैठकमा मन्त्रिमण्डललाई चाँडो पूर्णता दिनेबारे पनि छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । मन्त्रालय भागबण्डाबारे गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुने एक नेताले बताए । बैठकले मन्त्रिपरिषद् विस्तार ढिला नगरी छिटो गर्नुपर्ने नेताहरुले बताएका छन् ।
त्यस्तै, बैठकमा तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक बर्ष ०७८/०७९ को बजेट सच्चाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको बैठकमा आवश्यक कानुन बनाएर बजेट परिमार्जन गर्न सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका हुन् ।
यस्तै, बैठकमा दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारको अडान प्रष्ट पार्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् । गत १५ साउनमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले लट्ठा फुस्काइदिँदा जयसिंह धामी महाकाली नदीमा खसेका थिए ।त्यसैगरी बैठकमा गठबन्धन दलले कोभिड नियन्त्रणमा सरकारलाई प्रभावकारी काम गर्नको साथै बुटवल–नारायणगढ सडकको तत्काल स्तरोन्नती गर्न पनि सरकारलाई सुझाव दिएको एक नेताले बताए ।
गत साउन २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवा नेतृत्वको सरकारले डेढ महिना बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार गर्न नसक्दा सरकारको आलोचना भइरहेको छ । यसअघि भएको भेटमा कांग्रेसले प्रधानमन्त्रीसहित सात, माओवादी, एकीकृत समाजवादी र जसपाले पाँच–पाँच मन्त्रालय पाउने सहमती भएको छ ।

