नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ भदौ ।

मन्त्रालय बाँडफाँटका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि निष्कर्ष विहिन हुँदै टुंगिएको छ। केही दिनयता लगातार गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरू छलफलमा जुटिरहेका छन्।
आज (मंगलबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठक करिव डेढ घण्टा चलेको थियो । तर,छलफलमा कुनै ठोस निर्णय निकाल्न सकेन । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवको सहभागीता रहेको थियो ।
मन्त्रालय बाँडफाँटका विषयमा पुन: छलफल हुने भन्दै सकिएको थियो । प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भोलिसम्ममा मन्त्रिमण्डलले पूर्णता पाउने बताए । त्यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले छलफलमा केही निर्णय नभएको प्रतिक्रिया दिए । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा‘जुगल’ले छलफल सकारात्मक भएको भन्दै चाँडै मन्त्रिमण्डले पूर्णता पाउने बताए ।
गत साउन २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवा नेतृत्वको सरकारले डेढ महिना बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार गर्न नसक्दा सरकारको आलोचना भइरहेको छ । यसअघि भएको भेटमा काँग्रेसले प्रधानमन्त्रीसहित सात, माओवादी केन्द्र, नेकपा समाजवादी र जसपाले ६-६ वटा मन्त्रालय पाउने सहमति भएको बुझिएको छ । यद्यपि कुन-कुन मन्त्रालय पाउने भन्ने विषयमा भने टुंगो लागेको छैन ।

