नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ भदाै ।

बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले सरकारको दाबी गर्ने भएको छ। एमालेमा रहेका १२ सांसदसले एकीकृत समाजवादीमा सनाखत गरेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन्। एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले भने, ‘प्रदेशमा हामी १२ जनाले एमाले त्यागेर नेकपा एकीकृत समाजवादीमा रहेको औपचारिक जानकारी निर्वाचन आयोगलाई गराएका छौं। सनाखत पनि सकिएको छ। अझै केही साथी थपिने सम्भावना पनि छ।’
उनले एकीकृत समाजवादीले सरकार छाडेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको बताए। उनले भने, ‘त्यो सरकार ढल्छ र नयाँ बन्नेछ।’ उनले नयाँ सरकारको नेतृत्वमा एकीकृत समाजवादीको दाबी रहने बताए। उनले भने, ‘यसबारे गठबन्धनबीच एक प्रकारको सहमतिसमेत भइसकेको छ। त्यसैले चाँडै बागमतीमा हाम्रो नेतृत्वमा सरकार बन्नेछ।’
निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न समय दिएको छ। एमाले छाडेकाहरु २३ गते मात्र एकीकृत समाजवादीका सांसद बन्नेछन्। त्यसपछि नेकपा एसले संसदीय दलको नेता चयन गर्नेछ। संसदीय दलको नेता नै मुख्यमन्त्रीको उम्मेदवार बन्नेछन्।
संसदीय दलको नेता तपाईं नै हुने हो कि अरू कसैको सम्भावना छ भन्ने प्रश्नमा पाण्डेले भने, ‘मेरै सम्भावना बलियो छ। अब बागमती प्रदेश सरकार मेरै नेतृत्वमा बन्नेछ।’ बागमतीमा एमालेका ५६ सांसद छन्। १०९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५५ जना सांसदको साथ चाहिन्छ। १२ जना सांसदले एकीकृत समाजवादी रोजेपछि नेकपा एमालेका ४४ जना सांसद मात्रै बाँकी छन्।

