यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णय सरकारले सार्वजनिक गरेको छ । बैठकले स्वीस सरकारले दीगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजनाका लागि दिने करिब एक अर्ब ९३ करोड सहयोग स्वीकृत गर्नेदेखि चीनसँगको सीमा समस्या अध्ययन गर्नेलगायतका निर्णय गरेको छ ।

त्यसैगरी बैठकले माओवादी सेनाका घाइते, अपांग लडाकुहरू, सशस्त्र द्वन्द्व ऐतिहासिक जनआन्दोलन र मधेस आन्दोलनका घाइते, अपांगहरूका लागि पुनर्स्थापना तथा हेरचाह दोस्रो संशोधन निर्देशिका स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।



यी हुन मन्त्रिपरिषदका १४ निर्णय
१, स्वीस सरकारको सहयोगमा दीगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना दोस्रो चरण कार्यान्वयनका लागि प्राप्त हुने १४ दशमलब ७ मिलियन अर्थात् करिब एक अर्ब ९३ करोड स्वीकार गर्ने,

२, मेवा र नलगार्ड सवस्टेसनमा परेका दुईजना व्यक्तिको जग्गाको क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने,

३, माओवादी सेनाका घाइते, अपांग लडाकुहरू, सशस्त्र द्वन्द्व ऐतिहासिक जनआन्दोलन र मधेस आन्दोलनका घाइते, अपांगहरूका लागि पुनर्स्थापना तथा हेरचाह दोस्रो संशोधन निर्देशिका स्वीकृत गर्ने,

४, आर्थिक वर्ष २०७८-०७९ को बजेट वक्तव्यमार्फत ३३ प्रतिशत वृद्धि भएको सामाजिक सुरक्षा भत्ता, मासिक भत्ता कायम गर्ने ।

५, नेपाल परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणिका उपसचिवहरू कृष्णचन्द्र अर्याल र धनबहादुर ओलीको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने,

६, युवा तथा साना व्यवसायी कोषको कार्यकारी निर्देशकमा कास्कीका विश्वमोहन अधिकारीलाई नियुक्त गर्ने,

७, खोटाङ जिल्लास्थित मुढे ब्यारेकमा तैनाथ श्री गोरखा गणका लागि आवश्यक पर्ने स्थानीय व्यक्तिहरूको करिब २४ रोपनी जग्गा मुआब्जा दिनेगरी अधिग्रहणका लागि स्वीकृति दिने,

८, कोभिडविरुद्धको खोप क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने,

९, नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा मोरङका डाक्टर विक्रान्त ढकाललाई नियुक्ति गर्ने,

१०, राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव श्री राजकुमार श्रेष्ठलाई सचिवमा बढुवा गर्ने,

११, धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ बमोजिम बोर्डका अध्यक्षका विषयमा छानविन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षता वित्र सदस्य प्राध्यापक नारायणप्रसाद पौडेल र कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य रहेको जाँचबुझ समिति गठन गर्ने,

१२, हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको मिमि लाप्तादेखि हिल्सासम्म उठेको सीमा समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न गृहमन्त्रायका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र सीमा विज्ञ रहेको समिति गठन गर्ने,

१३, माउन्ट किट २ आरोहण गर्ने दोलखाका दावा तेन्जिङ शेर्पासमेतको नेपाली पर्वतारोहीहरूलाई प्रोत्साहन स्वरूप प्रतिव्यक्ति एक लाखका दरले रकम उपलब्ध गराउने,

१४, ढल्केबर लोहारपट्टी १३२ केभी प्रशारण लाइनको टावर निर्माणका लागि आवश्यक जग्गाप्राप्तिका लागि स्वीकृति दिने ।

सम्बन्धित समाचार