नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ भदौ ।

प्रदेशका २ का १० सांसद नेकपा एमाले परित्याग गर्दै माधव कुमार नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका छन् । आज (बिहीबार) १० जना सांसदहरुले प्रदेश २ को निर्वाचन आयोगको कार्यालय जनकपुरधाममा गएर एकीकृत समाजवादी पार्टीमा गएको भन्दै सनाखत गरेका थिए ।
सांसदहरुमा शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तवले सनाखत गरेका छन् । १३ सांसदले सनाखत गराउने भनिए पनि सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ खराब मौसमका कारण जनकपुरधाम बिहीबार आउन नसकेकोले गर्दा १० जनाले मात्र बिहीबार सनाखत गराएको नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोले बताए ।
त्यस्तै, सांसद डिल्लीप्रसाद उप्रेती उपचारका निम्ति भारतको दिल्लीमा रहेकाले उनले दूतावासमार्फत् आफ्नो सनाखत गराउने महतोले जानकारी दिए । नेकपा एमालेका २१ जना सांसद रहेको प्रदेश २ मा १३ सांसद माधव नेपालको नेकपा (एकीकृत समाजवादी)को पक्षमा रहेका थिए । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।

