नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ भदाै ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकार जनअनुमोदित नभएको भन्दै दीर्घकालिन असर गर्ने सम्झौता नगर्न चेतावनी दिएका छन् । रावलले एमसीसीलाई षड्यन्त्रपूर्वक अगाडी बढाउन खोजेको आरोप समेत लगाएका छन् ।
विहीबार साँझ सामाजिक संजाल मार्फत उनले एमसीसी सम्झौतालाई अगाडि बढाउने षड्यन्त्र भएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्। एमसीसीकी उपाध्यक्ष नेपाल आउने तयारी गरेको र सरकारले एमसीसी सम्झौता अगाडी बढाउने तयारी गरेको चर्चाबीच रावलले यस्तो बताएका हुन्।
नेपालमा द्वन्द्व पछिको अस्थीर राजनीतिक स्थितमा एमसीसी सम्झौताको चाँजो मिलाइएको र अहिले फेरि राजनीति अस्थीर बनेका बेला एमसीसी उपाध्यक्षलाई बोलाएर सम्झौता अगाडि बढाउने षड्यन्त्र भइरहेको रावलको भनाइ छ। रावलले वर्तमान सरकार जनताबाट अनुमोदित सरकार नभएको पनि बताएका छन्। अहिलेको सरकारलाई देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश नभएको रावलको भनाइ छ।
रावलले भनेका छन्, ‘नेपालमा द्वन्द्वपछि अस्थिर राजनीतिक स्थितिमा एमसीसी सम्झौताको चाँजो मिलाइयो। फेरि अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षड्यन्त्र हुँदैछ। सरकार जनअनुमोदित होइन। देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।’

