नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ भदौ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताएका छन् ।
पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी गरी उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउँदै जनजनमा लोकतन्त्रको रक्तसञ्चार गर्ने उल्लेख गरेका हुन् । सभापति देउवाले भनेका छन्, ‘देशभरका साथीहरूलाई लोकतान्त्रिक प्रक्रियाअनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गर्दछु ।’
लोकतन्त्रको पर्यायका रूपमा रहेको कांग्रेसले लोकतान्त्रिक अभ्यासमा आफूलाई सधैँ अग्रणी सावित गर्दै आएको उल्लेख गर्दै उनले नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि कांग्रेस सधैँ अगाडि रहेको बताएका छन् । कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया आजदेखि औपचारिकरूपमा प्रारम्भ भएको छ । उनले भनेका छन्, ‘संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकै बीच हामीले सुरु गर्नुपरेको महाधिवेशनमा सर्वप्रथम सामाजिक दूरी कायम गरी सहभागी हुन कांग्रेसका तमाम नेता तथा कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछु ।’
आठ लाखभन्दा बढी कांग्रेसका क्रियाशील सदस्य आजदेखि १४औँ महाधिवेशको प्रक्रियामा सहभागी हुनुभएको उल्लेख गर्दै उहाँले आफूले ती सबै सदस्य र नेतृत्वको जोश, जाँगर र साथको अनुभूति गरिरहेको बताएका छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको जनाउँदै प्रधानमन्त्री देउवाले नेपाली जनताले बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव भन्ने बुझिसकेको उल्लेख गरेका छन् । ‘त्यसैले ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरूलाई आग्रह गर्न चाहन्छु’, उनले भनेका छन् ।
कांग्रेसको त्यो विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै काँधमा आएको जनाउँदै उनले सन्देशमार्फत जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रणसमेत गरेका छन् ।
यस महाधिवेशनमार्फत सशक्त कांग्रेस बनाउने अभियानमा होमिइसकेको र पार्टीका सबैले हरेक गाउँको मुद्दासँग आफूलाई गाँस्दै, हरेक टोलको भावनाको नेतृत्व गर्दै ती सबै मुद्दा र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घरघरमा पु¥याउनुहुनेमा सभापति देउवाले विश्वास लिएका छन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापित शेरबहादुर देउवाद्वारा व्यक्त गरिएको शुभकामना-
आदरणीय साथीहरू
नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया आजदेखि औपचारिक रूपमा प्रारम्भ भएको छ। स्वदेश र विदेशमा रहेका पार्टीका सदस्यहरू, शुभेच्छुक र शुभचिन्तक सबैमा म जय नेपाल न्यानो अभिवादन व्यक्त गर्दछु।
संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकै बीच हामीले सुरु गर्नुपरेको महाधिवेशनमा सर्वप्रथम सामाजिक दूरी कामय गरी सहभागी हुन नेपाली कांग्रेसका तमाम् नेता तथा कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछु।
आज म निकै खुसी छु। ८ लाखभन्दा बढी नेपाली कांग्रेसका क्रियाशील सदस्य आजदेखि १४औं महाधिवेशको प्रक्रियामा सहभागी हुनुभएको छ र मैले ती सबै सदस्य र नेतृत्वको जोश, जाँगर र साथको अनुभूति यतिबेला गरिरहेको छु।
लोकतन्त्रको पर्यायको रूपमा रहेको हाम्रो पार्टी नेपाली कांग्रेसले लोकतान्त्रिक अभ्यासमा आफूलाई सधैं अग्रणी साबित गर्दै आएको छ। नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि नेपाली कांग्रेस सधैं अगाडि छ।
पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो। स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग मजबुत बनाउँदै जन(जनमा लोकतन्त्रको रक्त–सञ्चार गर्छ। देशभरका साथीहरूलाई लोकतान्त्रिक प्रक्रियाअनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गर्दछु।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली कांग्रेसलाई बलियो बनाउन जरुरी छ। नेपाली जनताले बुझिसकेका छन्– बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव छ। त्यसैले ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरूलाई आग्रह गर्न चाहन्छु।
कांग्रेसको त्यो विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै काँधमा आएको छ। म तपाईंहरूलाई जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण पनि यो भिडिओ सन्देशमार्फत गर्न चाहन्छु।
हामी १४औं महाधिवेशनमार्फत सशक्त कांग्रेस बनाउने अभियानमा होमिइसकेका छौं। पार्टीका साथीहरूले हरेक गाउँको मुद्दासँग आफूलाई गाँस्दै, हरेक टोलको भावनाको नेतृत्व गर्दै, ती सबै मुद्दा र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घर–घरमा पुर्याउनुहुनेछ भन्ने विश्वास मैले लिएको छु।
अन्त्यमा, आजदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी सबै आदरणीय साथीहरूलाई हार्दिक स्वागत तथा बधाई दिन चाहन्छु।
धन्यवाद!
जय नेपाल!

