एमसीसीकै कारण गठबन्धनमा फाटो, प्रचण्ड र माधवले दिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी

मन्त्रालय भागवण्डामा जुटेन सहमति, अन्यौलमा मन्त्रिपरिषद् विस्तार

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच आज मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । प्रधानमन्त्री देउवाले एमसीसी अगाडि बढाउने विषयमा एमालेसँग छलफल गर्न थालेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाल रूष्ट बनेका छन् । देउवासँगको भेटमा उनीहरूले एमसीसी अगाडि बढाउन हतार नगर्न र गठबन्धनको सहमतिबेगर विपक्षी दलहरूसँग भेटघाट र सम्झौता नगर्न दवाव दिएको स्रोतको दाबी छ ।

एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्री देउवाले गत बुधबार कानुनमन्त्री ज्ञानेन्द्र कार्कीलाई एमाले अध्यक्ष केपी ओलीलाई भेट्न पठाएका थिए । लगतै एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेपाल आउने विषय सार्वजनिक भएको थियो । नेपालमा एमसीसीलाई लिएर व्यापक विरोध भैरहेको बेलामा हालै उपाध्यक्षमा नियुक्त भएकी सुमार नेपाल आउने भएपछि गठबन्धनका अन्य दलहरू सशंकित बनेका छन् ।



नेपालले २०१७ मा नै एमसीसी सम्झौतामा हस्ताक्षर गरेको थियो, जसअनुसार नेपालको विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतका लागि नेपालले करिब ६० अर्ब नेपाली रूपैयाँ पाउनेछ । कांग्रेस सरकारकै पालामा भएको सम्झौता जसरी पनि अनुमोदन गराउन देउवाले पहल गरिरहेका छन् । तर प्रचण्ड, नेपाललगायत गठबन्धनमा सहभागी अन्य दलहरू संशोधनपछि मात्र एमसीसी पास गर्न सकिने बताउँदै आएका छन् । आज बिहान देउवासँगको भेटमा प्रचण्ड र माधवले एमसीसीकै कारण गठबन्धन छोड्नुपर्ने अवस्था नआओस् भन्दै देउवालाई सचेत गराएको बताइन्छ ।

मन्त्रालय भागबण्डामा जुटेन सहमति
नेपाली कांग्रेसका सभापति देउवा नेतृत्वको सरकार गठन भएको ५० दिन कट्दासम्म मन्त्रिपरिषद् विस्तार हुन नसक्दा जनस्तरबाटै सरकारको चर्को आलोचना हुन थालेको छ । सरकारमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवासहित दुई मन्त्री र एक राज्यमन्त्री छन् । यस्तै, माओवादीका तर्फबाट दुई मन्त्री छन् । चार मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार सञ्चालन गरिरहेका देउवाले चाहेर पनि मन्त्रिपरिषद् विस्तार हुन सक्ने अवस्था छैन ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी भर्खरै फुटेको र नेताहरू यताउता गर्नेक्रम जारी रहेकोले भदौ २३ सम्म मन्त्रिपरिषद् विस्तार नगर्न देउवालाई आग्रह गरेका छन् । त्यसअघि मन्त्रालय भागवण्डामा सहमति जुटाउने प्रयास भए पनि सफल भएको छैन । दलहरूले आकर्षक मन्त्रालयमा आ–आफ्नो अडान कायमै राख्दा मन्त्रालय भागवण्डा हुन सकेको छैन भने यो विषयले पनि गठबन्धनमा चिसोपन बढाएको छ ।

यता एमाले अध्यक्ष ओली भने एमसीसी र मन्त्रालय भागबण्डाले गठबन्धनमा फाटो आएपछि देउवालाई साथ दिएर गठबन्धन फुटाउने योजनामा रहेको स्रोतको दाबी छ । देउवाका दूत बनेर आफुलाई भेट्न आएका कानुनमन्त्रीसँग ओलीले एमसीसी अगाडि बढाए एमलेले समर्थन गर्ने बताएका थिए । ओलीले गठबन्धन फुटाउने बलियो हतियारको रूपमा एमसीसीलाई लिएको र त्यसैको बाहनामा गठबन्धन फुटाएर कांग्रेस एमालेबीच सहकार्यको वातावरण बनाउने कुटिल मनासायका साथ रणनीति बनाएको राजनीतिक विश्लेषकहरूको ठम्याइ रहेको छ ।।

सम्बन्धित समाचार