नेकपा (एकीकृत समाजवादी)ले गर्यो नेताहरुको जिम्मेवारी बाँडफाँट

तोक्यो ६ प्रदेशमा इन्चार्ज

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरु तोकेको छ । एकीकृत समाजवादीले पार्टी स्थायी कमिटीमा अध्यक्ष माधव नेपाल र बरिष्ठ नेता झलनाथ खनाल सहित मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल रहेको पार्टीको अन्तरपार्टी निर्देशन (अपानी)मा उल्लेख छ । नेकपा एकीकृत समाजवादीले पहिले नेकपाको स्थायी कमिटीमा रहेकाहरुलाई स्थायी कमिटीमा स्थान दिएको हो ।

त्यस्तै डा. बेदुराम भुसालको संयोजकत्वमा दैनिक कार्य सम्पादन गर्नका लागि पार्टीले प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेको सचिवालय गठन गरिएको छ । पार्टीले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी तुलाधरलाई दिइएको छ ।



यस्तै पार्टीले राजनीतिक प्रतिवेदन मस्यौदा समितिको लागि झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । समितिमा बेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, रामकुमारी झाँक्री र गणेश विक रहेका छन् ।

त्यसैगरी पार्टीले छ वटा प्रदेशमा इन्चार्ज तोकेको छ । एकीकृत समाजवादीले प्रदेश एकमा घनेन्द्र बस्नेत, प्रदेश दुईमा धर्मनाथ साह, बागमतीमा केदार न्यौपानेलाई जिम्मेवारी दिएको छ । गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वाला इन्चार्ज तोकिएका छन् । सुदूरपश्चिम प्रदेशमा गरिमा शाहको नाम प्रस्ताव गरिए पनि अन्तिम टुँगो लाग्न बाँकी रहेको बताएइको छ । यस्तै , उपत्यका विशेष प्रदेश इन्चार्जको जिम्मेवारी विश्वनाथ प्याकुरेल र जनसम्पर्क विशेष प्रदेश इन्चार्जको जिम्मेवारी विजय गुरुङले पाएका छन् ।

एकीकृत समाजवादीले विभागीय जिम्मेवारी समेत बाँडफाँड गरेको छ । एकीकृत समाजवादीले मोर्चा इञ्चार्जमा विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रमा श्रीप्रसाद शाहलाई चयन गरेको हो ।

सम्बन्धित समाचार