यी दुई एमाले सांसदले गरे नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत

प्रदेशका २ का थप दुई सांसद नेकपा एमाले परित्याग गर्दै माधव कुमार नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका छन् । आज (आइतबार) २ सांसदहरुले प्रदेश २ को निर्वाचन आयोगको कार्यालय जनकपुरधाममा गएर एकीकृत समाजवादी पार्टीमा गएको भन्दै सनाखत गरेका छन् ।

सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका हुन् । यस अघि गत बिहिबार १० सांसद नेकपा एमाले परित्याग गर्दै माधव कुमार नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका थिए । सांसदहरु शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तवले गत बिहीबार सनाखत गरेका हुन् ।



त्यस्तै, सांसद डिल्लीप्रसाद उप्रेती उपचारका निम्ति भारतको दिल्लीमा रहेकाले उनले पनि एकीकृत समाजवादी रोज्ने दावी गरेका छन् ।नेकपा एमालेका २१ जना सांसद रहेको प्रदेश २ मा १३ सांसद माधव नेपालको नेकपा (एकीकृत समाजवादी)को पक्षमा रहेका थिए । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।

सम्बन्धित समाचार