नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ भदाै ।

नेकपा एमालेमा फेरि विवाद सुरू भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काउने दशबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै नेताहरू आक्रोशित बनेका छन् । पार्टी विभाजन हुँदा एमालेमै बसेका मध्यमार्गी भनिएका नेताहरूले अध्यक्ष ओलीले सहमति कार्यन्वयन नगरेको भन्दै आक्रोशित बनेका छन् । ओली र निकट नेताहरूले दशबुँदे कार्यान्वयनमा इमान्दारिता नदेखाएको मध्यमार्गी नेताहरूले निष्कर्ष निकालेका छन् ।
संस्थापन पक्षले दसबुँदे कार्यान्वयनमा आलटाल गरेको भन्दै घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायत १० जनाले शुक्रबार भर्चुअल छलफल समेत गरेका छन् । भर्चुअल बैठकमा सहभागी एक नेताका अनुसार पछिल्ला केही घटनाक्रम र कार्यक्रमले दसबुँदे कार्यान्वयन नभएकाले ओली समूहले इमान्दारिता नदेखाएको बताए । यो बैठक पछाडि एमालेकै ओली निकट नेताहरूले भने उनीहरूले फेरि बार्गेनिङ सुरू गरेको आशंका गरेको छ ।
एमाले विभाजनपछि भदौ १० को केन्द्रीय कमिटी बैठकले पार्टीका सबै तहलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन कार्यदल बनाएको थियो ।त्यसमाथि प्रगतिशील कानुन व्यवसायी संगठन (पीपीएलए) को कार्यक्रमलाई लिएर पनि एमालेमा थप विवाद निस्किएको छ ।
यसबाहेक एमाले काठमाडौं महानगर कमिटीले राष्ट्रिय सभागृहमा शनिबार आयोजना गरेको कार्यकर्ता भेलामा दसबुँदेमार्फत एकतामा रहेका नेताहरूलाई आमन्त्रण नगरिएको भन्दै अर्को विवाद देखिएको छ ।
उक्त कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गरेका थिए । ओलीले भनेका थिए, ‘हामीले केही गलत मान्छेहरूलाई हिजो उम्मेदवारी दिएछौं, विश्वासको मत दिनुपर्छ भनेर बहिष्कार गरे । सरकार अल्पमतमा पारे । संसद् धरापमा पर्यो । नत्र संसद् धरापमा पर्ने थिएन । सरकार धरापमा पर्ने थिएन । हाम्रै पार्टीका भनिएका मान्छेहरू बाहिर गएर सरकार ढाले । हाम्रै चिह्नमा लडेका मान्छे, तिनै मान्छे राष्ट्रपतिकहाँ वामपन्थी सरकार ढालिपाऊँ, शेरबहादुर देउवालाई नियुक्त गरिपाऊँ भनेर लुखुरलुखुर हातमा निवेदन लिएर गए । त्यहाँबाट पार नलागेपछि अदालतमा गए ।’ ओलीले भने ।
ओलेको यो अभिव्यक्तिले एमालेमा झनै संकट थपेको छ । एमाले उपाध्यक्ष युवराज ज्ञवालीले पनि यस्ता अभिब्यक्ती र एकल कार्यक्रमले अविश्वास जन्माउने बताएका छन् ।
त्यतिमात्र होइन वाग्मती र सुदूरपश्चिम प्रदेशका इन्चार्जको विषयमा पनि एमालेमा विवाद देखिएको छ । दसबुँदे सहमति कार्यान्वयमा जाँदा वाग्मतीमा अष्टलक्ष्मी शाक्य र सुदूरपश्चिममा भीम रावल इन्चार्ज हुनुपर्ने हो तर एमालेले फागुन २८ पछि वाग्मतीमा पूर्वमाओवादीबाट एकतामा गएका रामबहादुर थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको थियो ।
पछिल्लो समय शाक्य र रावलले एमालेमै रहने निर्णय लिएपछि थापा र भट्टले आफ्नो जिम्मेवारीलाई लिएर आशंका व्यक्त गरिरहेका छन् । त्यसपछि पार्टी प्रवक्ताको हैसियतमा प्रदीप ज्ञवालीले विहीबार निकालेको वक्तव्यले पनि एमालेमा रडाको मच्चाएको छ । २०७५ जेठ २ अगाडि एमालेको प्रचार विभाग प्रमुख योगेश भट्टराई थिए । दसबुँदे सहमति कार्यान्वयनमा जाँदा उनले विभाग प्रमुखको हैसियतमा प्रवक्ताको काम गर्न पाउनुपर्ने माध्यमार्गी नेताहरूले बताउने गरेका छन् ।
ओली आफूहरुसँग भएको सहमतिबाट पछि हटेमा फेरि संसद्मा २० प्रतिशत पुर्याएर एमाले फुटाउने हैसियत आफूहरुसँग भएको भन्दै १० भाईले ओलीलाई चेतावनी दिएको स्रोतको भनाई छ ।

