नेपाललाई जितको लागि १३५ रनको लक्ष्य प्रस्तुत

नेपाल र पपुवा न्युगिनीबीचको एकदिवसीय सिरिज अन्तर्गत आजको पहिलो खेलमा पपुवा न्युगिनीले नेपाललाई जितको लागि १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३३ ओभरमा सबै विकेट गुमाउदै १३४ रन बनायो ।

उसका लागि लेगा सीआकाले ३० रन बनाए भने चार्ल्स अमिनीले २३ रन जोडे । त्यस्तै गौड़ी टोकाले २२ रन बनाउँदा चाड सोपेर १६ रनमा अविजित रहे । नेपालको लागि सन्दीप लामिछानेले ४ विकेट लिए भने बिक्रम सोब र कुशल मल्लले समान २-२ लिँदा सोमपाल कामीको भागमा १ विकेट रह्यो । त्यस्तै आजको खेलमा कुशल भुर्तेल, आसिफ शेख र तीब्र गतिका बलर बिक्रम सोबले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन्।



नेपाल र पपुवा न्युगिनी आज र भदौ २५ गते ओमानमा खेल्ने तालिका रहेको थियो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने तय भएको हो । लिग–२ अन्तर्गत नेपालले आगामी सेप्टेम्बरमा ओमान र अमेरिकासित त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने क्यानले जनाएको छ ।

विश्वकप लिग–२ मा नेपाल रहेका समूहमा पपु्वा न्युगिनी, ओमान, अमेरिका, स्कटल्यान्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् । लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । नेपाल चार खेलमा दुई जित र दुई खेलमा हारका साथ चार अङ्क जोड्दै छैटौँ स्थानमा छ ।

यस्तै ओमान १० खेलमध्ये आठमा जीत र दुईएमा हार बेहोर्दै १६ अङ्कसहित शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हारसहित १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अङ्क जोड्दै तेस्रो स्थानमा छ । स्कटल्यान्डले खेलेको एउटा खेल वर्षाको कारण रद्द भएको थियो । नामिबिया सात खेलमा चारमा जित र तीनमा हार बेहोर्दै आठ अङ्कसहित चौथों स्थानमा छ ।

यसैगरी युएई सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अङ्क जोड्दै पाँचौँ स्थानमा छ । युएईले खेलेको एउटा खेल रद्द भएको थियो । पपुवा न्युगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ । पपुवा न्युगिनी अङ्कबिहीन बन्दै लिग–२ को पुछारमा रहेको छ । लिग–२ अन्तर्गत सन् २०२३ सम्म प्रत्येक टोलीले ३६ एकदिवसीय खेल खेल्ने छन् । लिग–२ शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन् ।

सम्बन्धित समाचार