नवकान्तिपुर संवाददाता
काठमाडौं
नेपाल र पपुवा न्युगिनीबीचको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । आज (मंगलबार) भएको खेलमा पपुवा न्युगिनी नेपालसँग २ विकेटले पराजित हुन पुग्यो ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३३ ओभरमा सबै विकेट गुमाउदै १३४ रन बनायो । उसका लागि लेगा सीआकाले ३० रन बनाए भने चार्ल्स अमिनीले २३ रन जोडे । त्यस्तै गौड़ी टोकाले २२ रन बनाउँदा चाड सोपेर १६ रनमा अविजित रहे । नेपालको लागि सन्दीप लामिछानेले ४ विकेट लिए भने बिक्रम सोब र कुशल मल्लले समान २-२ लिँदा सोमपाल कामीको भागमा १ विकेट रह्यो ।
१३५ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रेको नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाउदै भेट्टायो । उसको लागि रोहित पौडेलले ४१ रन बनाए भने सोमपाल कामी २२ रनमा अविजित रहे । त्यस्तै आशिफ शेखले ३० रन बनाउँदा कुशल भुर्तेलले १५ रन जोडे । एक समय ८२ रनमा ७ विकेट गुमाएको नेपालको इनिंग पौडेल र कामीले आठौँ विकेटको लागि ५२ रनको अर्धशतकीय साझेदारी गर्दै उकासेका थिए ।
बलिङ्गमा राम्रो प्रदर्शन गरेपनि नेपाल ब्याटिङमा फेरि कमजोर रह्यो । पपुवा न्युगिनीको लागि गौड़ी टोकाले ३ विकेट लिए भने चाड सोपेर र डामियेन राभुको भागमा समान २-२ विकेट रह्यो । त्यस्तै आजको खेलमा कुशल भुर्तेल, आसिफ शेख र तीब्र गतिका बलर बिक्रम सोबले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् ।
नेपाल र पपुवा न्युगिनीको दोस्रो एकदिवसीय खेल भदौ २५ गते ओमानमा खेल्नेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने तय भएको हो । लिग–२ अन्तर्गत नेपालले आगामी सेप्टेम्बरमा ओमान र अमेरिकासित त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने क्यानले जनाएको छ ।